HUNTING LINE

+977-023- 544420

News

आईसीटीसँगै फेरिँदो जीवनशैली

पछिल्लो समय नेपालमा पनि दूरसञ्चार सेवाको पहुँच बढ्दै गएको छ । यो सेवाले खास गरेर मोबाइल फोनको माध्यमबाट एक हदसम्म आम नेपालीलाई एकआपसमा जोड्न सफल भएको छ । नेपालमा अहिले सबैजसो मानिसको हात–हातमा मोबाइल फोन पुगिसकेको छ । दूरसञ्चार प्राधिकरणको तथ्याङ्कलाई आधार मान्ने हो भने टेलिफोन सेवाको पहुँच जनसङ्ख्याभन्दा २४ प्रतिशत बढी पुगेको छ । यस्तै, इण्टरनेटको पहुँच ५४ प्रतिशत नाघिसकको अवस्था छ । इण्टरनेटको व्यापकताकै कारण आईसीटीको प्रयोगबाट यदाकदा टाढा रहनुपर्दा धेरैजसो मानिसले आफूलाई एक्लो र अलग्गिएको महसूस गर्ने अवस्था बनिसकेको छ ।

पछिल्ला वर्षहरूमा आईसीटी दिगो विकासका लक्ष्य प्राप्तिका लागि आत्मसात् गरिने रणनीतिको केन्द्रमा पनि पर्दै आएको छ । विश्वलाई १७ ओटै दिगो विकासका लक्ष्य प्राप्तिमा आईसीटीले महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा लिइएको छ । दूरसञ्चार सेवा आईसीटीको मुख्य पूर्वाधारको रूपमा रहँदै आएको छ । हाल आएर दूरसञ्चार सेवा प्रविधि मात्र नभएर एउटा छुट्टै उद्योगको रूपमा समेत स्थापित भइसकेको छ ।

दूरसञ्चार सेवाले समाजको स्वरूप, संस्कृति र जीवनशैलीका अतिरिक्त व्यवसाय र आर्थिक गतिविधिमा पनि उत्तिकै प्रभाव पार्न थालेको छ । सञ्चार प्रणालीको संयोजनबाट कार्यसञ्चालन प्रक्रियामा सुधार हुनुका साथै व्यावसायिक आवश्यकता पूर्ति र लागत खर्च कटौती गर्न सहयोग पुगिरहेको छ । दूरसञ्चारले विद्युतीय सेवाको आधार तयार गर्दै औद्योगिक उत्पादनका  ग्राहकलाई लक्षित गर्न सहज बनाउँदै छ ।

सन् १९९० को दशकको अन्त्यसम्म पनि विश्वका १ प्रतिशतभन्दा कम मानिस मात्र अनलाइन हुने गर्थे । त्यसमा पनि अन्यत्र भन्दा पश्चिमा देशहरूमा इण्टरनेटको प्रयोग बढी मात्रामा हुने गथ्र्यो ।  त्यसबेला आम मानिसलाई इण्टरनेटप्रति निकै कौतुहल पनि थियो । तर, आज आएर विश्वका आधाभन्दा बढी मानिस इण्टरनेट सञ्जालमा जोडिएका छन् । यो सङ्ख्या दिनदिनै बढ्दो क्रममा छ । नेपालमा पनि कुल जनसङ्ख्याको आधा हिस्सा इण्टरनेटसँज जोडिएको तथ्याङ्कले देखाएको छ ।

आईसीटीले मानिसको जीवनशैली मात्रै फेरेको छैन, यो आफैमा पनि बदलिँदो छ । सूचना प्रविधिमा भइरहेको तीव्र विकासले गर्दा नयाँ ‘ट्रेण्ड’समेत ल्याइरहेको छ ।

‘भर्चुअलाइजेशन’
आईसीटीको व्यापक रूपमा भइरहेको विस्तार र प्रयोगले छुट्टै ‘भर्चुअल’ दुनियाँ खडा हुँदै गएको छ । सूचना प्रविधि आफैमा एक किसिमको जीवन जिउने विकल्प बनिसकेको छ । हालका दिनहरूमा दूरसञ्चार सेवाले जहाँ जेसुकै गरे पनि प्रयोगकर्तालाई आफ्नो प्रभावमा पारिरहेकै हुन्छ । काम गर्दा, खेल्दा, सामाजिकीकरण प्रक्रिया, मनोरञ्जन, सेवाको वितरण र उपभोग, अध्ययन, अध्यापन, विश्राम, स्वास्थ्योपचार र अन्य कुनै योजना तथा परियोजनाहरूमा जतिखेर पनि दूरसञ्चार सेवाको आवश्यकता परिरहेको हुन्छ ।  

कक्षाकोठामा उपस्थिति बुझाउन, डाक्टरलाई भेट्न, चलचित्र हेर्न, भेटघाटको समय मिलाउन, सम्पर्कमा रहिरहन अहिलेको प्रविधिले धेरै सहयोग पु¥याएको छ । सामान्य हिसाबले भन्ने हो भने पनि हामी आफ्नै आनिबानी र जीवनमा ल्याएको परिवर्तन विचार गरे यसको प्रभाव सहजै महसूस गर्न सक्छौं । अब हामी विस्तारै मानिस–मानिसबीचको सञ्चारबाट मेशिन–मेशिनबीचको सञ्चारको युगमा प्रवेश गर्दै छौं ।  उदाहरणका लागि रेफ्रिजेरेटरले आफै सेवाकेन्द्रको वेब एजेण्टसँग सम्पर्क गरी आवश्यकताको परिपूर्तिमा सघाउने स्थिति बनिसकेको छ । यसबाट वस्तु तथा सेवाको ‘भर्चुअलाइज’ कसरी भइरहेको छ भन्ने स्पष्ट हुन्छ ।

भ्वाइसबाट डाटातर्फ
भ्वाइस सेवा वर्षौंदेखि सशक्त दूरसञ्चार माधयमको रूपमा रहिआएको छ । यद्यपि, अझै पनि सबैजसो ग्राहक लाइन तैनाथ अवस्थामा रहने गरेका छन् । आईसीटीमा भइरहेको तीव्र विकासले भ्वाइस सेवाबाट डाटा अर्थात् इण्टरनेट सेवातर्फ समाजलाई डोहोर्‍याउँदै लगेको छ । दुई मेशिनबीचको डिजिटल सूचना आदानप्रदान नै डाटा सञ्चार हो । एप्लिकेशनको आवश्यकताका आधारमा ब्याण्डविथ तथा क्षमता मध्यमदेखि उच्चसम्म हुन सक्छ । तस्वीर तथा फोटो (भिजुअल)का लागि ब्याण्डविथको आवश्यकता पनि सोही अनुपातमा बढ्दै जान्छ ।

दूरसञ्चार प्रविधिको हिसाबले हामीहरू सार्वजनिक नेटवर्कमा न्यारो ब्याण्डबाट ब्रोडब्याण्डतर्फ गइरहेका छौं । यसको मतलव ‘सिङ्गल च्यानल’बाट ‘मल्टिच्यानल सिष्टम’तर्फ तथा ‘लो ब्याण्डविथ’बाट ‘हाई ब्याण्डविथ’तर्फ गएका छौं ।

ब्रोडब्याण्ड इण्टरनेट
विभिन्न सेवाहरू अनलाइन प्रणालीमा ‘सिफ्ट’ हुने क्रम बढेसँगै डाटाको मागसमेत उल्लेख्य रूपमा बढ्न थालेको छ । त्यसका लागि तीब्र गतिको ब्रोडब्याण्ड इण्टरनेटको आवश्यकताको रूपमा स्थापित हुँदै गएको छ ।

फिक्स ब्रोडब्याण्ड सेवाको विस्तार अपेक्षित गतिमा बढ्न नसके पनि ताररहित प्रविधिको ब्रोडब्याण्ड विस्तार भने उत्साहप्रद रहेको छ ।

पछिल्लो समय मोबाइल प्रविधिमा तीव्र गतिको इण्टरनेटका लागि चौथो पुस्ताको प्रविधि (फोरजी)को विस्तारसमेत भइरहेको छ । अप्टिकल फाइबरको पर्याप्त विस्तार नभइसकेका नेपाल जस्ता मुलुकका लागि गुणस्तरयुक्त भ्वाइस सेवा र ब्रोडब्याण्डको आवश्यकता पूरा गर्न फोरजी उत्तम विकल्प हुन सक्छ ।

नेपालमा केही ढिलो गरी भए पनि गएको पुसबाट फोरजी सञ्चालमा आएको छ । हाललाई नेपाल टेलिकमले मात्रै दिइरहेको यो सेवा काठमाडौं र पोखरामा सञ्चालनमा हुँदा प्रयोगकर्ता पुगिसकेका छन् । हाललाई सिमित फ्रिक्वेन्सीका कारण फोरजीको गति ३२ दशमलव ४ एमबीपीएस मात्र छ । सन् २०२० सम्ममा शुरू गर्ने योजनाका साथ विकसित मुलुकहरूमा फाइभजीको तयारीसमेत भइरहेको छ ।

क्लाउड कम्प्युटिङ
साधारण रूपमा भन्दा कम्प्युटरको हार्ड ड्राइभको सट्टा इण्टरनेटको माध्यमबाट डाटाको स्टोर गर्ने र त्यसमाथि पहुँच कायम गर्ने ‘प्रोग्राम’ नै क्लाउड कम्प्युटिङ हो । जब कि डाटा स्टोर तथा एक्सेसका लागि हार्ड ड्राइभको प्रयोग गर्नुलाई लोकल कम्प्युटिङ तथा स्टोरेज भनिन्छ । सर्भर होष्ट गरी क्लाउड कम्प्युटिङको प्रयोग सस्तो, भरपर्दो र उपयुक्त हुन्छ ।

अटोमेशन प्रणालीको उपयोग बढेसँगै ठूलो मात्रामा डाटा स्टोरको गर्नुपर्ने हुन्छ । हाल सरकारी तथा निजी स्तरबाट क्लाउड कम्प्युटिङको शुरुआत भए पनि त्यसलाई व्यवस्थापन गर्न चुनौती नै छ ।

कन्भर्जेन्स
हरेकजसो व्यक्तिले कुनै पनि कुराप्रति समान किसिमबाट प्रतिक्रिया व्यक्त गर्दैन । कसैलाई पुस्तक पढ्नभन्दा फिल्म हेर्न आनन्द हुन सक्छ । मानिसको सोचाइ पनि भिन्न–भिन्न हुन्छ । अबको प्रविधि ‘एउटै प्लेटफर्म’मा विविध किसिमका ‘मिडिया फर्म्याट’बाट व्यक्तिपिच्छेका रुचिहरूलाई सम्बोधन गर्ने हो, जसलाई आईसीटीको क्षेत्रमा कन्भर्जेन्सको रूपमा बुझ्ने गरिएको छ ।

एकीकृत किसिमको सञ्चार प्रणालीको विकासले गर्दा मानवीय गतिविधिका सूचना तथा सञ्चारका सबै पाटाहरूलाई रूपान्तरण गर्दै लगेको छ । ‘मल्टिमोडल’का सूचनाको रचना, त्यसको आदानप्रदान र वितरणलाई सहयोग पुग्ने किसिमले हामीहरू कम्प्युटरकृत संसारमा प्रवेश गरिरहेका छौं ।

समय र दूरीको रूपमा रहेका व्यवधानहरू हटाउन केन्द्रित परम्परागत दूरसञ्चार सेवा तीव्र गतिमा भौतिक वास्तविकताबाट ‘मल्टिमिडिया’को रूपमा विकसित हुँदै गएको छ । सञ्चार, सेवा र सामग्री सबै विद्युतीय प्रणालीमा आधारित हुन थालेका छन् ।

प्रविधिमा हामी ‘सर्किट स्विच’को अवस्थाबाट ‘पकेट स्विच’को अवस्थामा स्थानान्तरण भइरहेका छौं । ‘सर्किट स्विच’मा एउटा च्यानलमा एउटा ‘कन्भर्सेशन’ हुन्छ, जब कि ‘पकेट स्विच’ले एउटै च्यानलमा ‘मल्टिपल कन्भर्सेशन’को अवसर दिन्छ । त्यसैगरी हामी ‘सिङ्गल मिडिया सिष्टम’बाट ‘मल्टिमिडिया’मा ‘सिफ्ट’ हुँदै गएका छौं । वर्तमान समाज आवाज मात्रको दूरसञ्चार सेवाबाट ‘मल्टिमोडल’ प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएको छ ।

नेटवर्क बण्डलिङ
प्रविधि जगत्मा भएको नयाँ–नयाँ विकास र तीव्रताकै कारण अहिले हामी भ्वाइसका लागि तयार पारिएको नेटवर्कबाट डाटा एप्लिकेशनमा आधारित उच्च गुणस्तरको डिजिटल नेटवर्कतर्फ लागिरहेका छौं । साथै, इलेक्ट्रोनिक नेटवर्कबाट सम्पूर्ण रूपमा अप्टिकल नेटवर्किङतर्फ गइरहेका छौं ।

पीएसटीएन, इण्टरनेट, वायरलेस विकल्प, प्रसारण नेटवर्क र केबल टेलिभिजनलगायत सेवाहरूमा पहुँचका लागि एकै समानको विकल्पको तयार भइरहेको छ । ग्राहकले समेत बण्डलिङ सेवाको चाहना व्यक्त गर्न थालेपछि नेटवर्क सेवा समेत कन्भरर्जिङ हुँदै गएको छ । प्रयोगकर्ताले एउटै बिल, वायरलेस, इण्टरनेट पहुँच, होष्टिङलगायतका लागि एउटै सेवाप्रदायक खोज्न थालेका छन् । विस्तारै त्यसको शुरुआत नेपालमा पनि हुन थालेको छ । आईएसपीहरूले एउटै नेटवर्कबाट दिइरहेको टेलिभिजन, इण्टरनेटलगायत सुविधालाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ ।

दूरसञ्चार सेवाको क्षेत्रमा आउने सामान्य परिवर्तनले मात्र पनि कुनै कम्पनीको आर्थिक स्थितिमा ठूलो परिवर्तन ल्याउन सक्छ । व्यक्तिको जीवनशैलीलाई एक हदसम्म सहज बनाउन सक्छ । विद्यमान कतिपय नियमनकारी प्रक्रियाहरू दूरसञ्चार सेवाको विकास र विस्तारलाई बढावा दिनेभन्दा त्यसलाई रोक्ने किसिमका छन् । केही व्यवस्थाहरू कुनै खास किसिमको विचार नगरीकनै तय गरिन्छ । नेपालको नियमनकारी व्यवस्थाको परिवर्तन कुनै किसिमको ठूलो समस्या आइपरेको अवस्थामा मात्रै हुने गरेको छ । यस किसिमका जटिलता फुकाउँदै नयाँ प्रविधिको विकास र त्यसलाई आत्मसात् गर्ने सन्दर्भमा सहजता कायम गर्नु नै विद्यमान चुनौतीको विषय हो ।

आईसीटी क्षेत्रको नियमनकारी निकायहरूको अबको भूमिका भनेकै यस क्षेत्रको विकासलाई सहयोग पुग्ने र धेरै जटिलता नरहने वातावरण तयार पार्नु हो । लागत घटाउँदै प्रतिस्पर्धात्मक रूपमा सञ्चार प्रविधिलाई छिटोछरितो बनाउनतेर्फ सरकारको ध्यान जान आवश्यक छ ।

साभार: आर्थिक अभियान

२५ बर्षपछि भएको लगानी सम्मेलनमा ठूलो बिदेशी लगानी भित्र्याउन पहल गर्ने राजनीतिक प्रतिबद्धता

२५ बर्षपछि काठमाडौमा आयोजना गरिएको लगानी सम्मेलनमा राजनीतिक नेताहरुले देशमा ठूला खाले बिदेशी लगानी भित्र्याएर चाँडै देश बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनीहरुले लगानी ल्याउने वातावरण बनाउन सहयोग गर्ने र उदार अर्थनीतिलाई अगाडि बढाउने जनाए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताउनुभएको छ ।

‘नेपाल लगानी सम्मेलन’को राजधानीमा उद्घाटन गर्दै उहाँले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको छ भन्नुभयो ।

शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउनका लागि सम्मेलन आयोजना गरिएको उल्लेख गर्नुभयो ।

राजनीतिक स्थायित्व र राजनीतिक दलबीचमा सहज अवस्था भएमात्र निजी क्षेत्रका लागि उपयुक्त अवसर हुने बताउँदै उहाँले नीति तथा नियम एवम् वातावरणलाई उपयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा दुईदिने लगानी सम्मेलन सुरु भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदार अर्थतन्त्रमा विश्वास राख्नेलाई नेपालमा लगानी गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर मुलुकका सम्भावित क्षेत्रलाई अगाडि बढाउन सकिने बताउनुभयो ।

नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने बताउँदै उहाँले त्यसमा सरकारले पहल गर्ने बताउनुभयो । नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै उहाँले सम्मेलनले नेपालमा लगानीका लागि उभार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

दोस्रो चरणको आर्थिक रुपान्तरणलाई अगाडि बढाएर आर्थिक लगानी र पुँजीलाई सुरक्षित गर्न सकिने बताउँदै सभापति देउवाले निजी क्षेत्रलाई प्रथमिकताका साथ अगाडि बढाउने नीति रहेको जानकारी गराउनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउनका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रमुख विपक्षी दलका नेताका रुपमा आफूले मुलुकको आर्थिक समृद्धिका लागि उपयुक्त वातावरण बनाउन पहल गर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि सबैको सहयोग आवश्यक छ भन्नुभयो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि धेरै लगानीका क्षेत्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले सरकारले लगानीका लागि सबै वातावरण बनाउने उल्लेख गर्दै निरन्तर ऊर्जाको व्यवस्था गर्ने र नीतिगत व्यवस्था गर्ने आश्वस्त पार्नुभयो । सरकारले परियोजना बैंक बनाएर लगानी छनोट गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उहाँले लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनबाट नेपालले लाखौँ युवाका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने सपना पूरा हुने बताउनुभयो ।

सम्मेलनका सहभागीलाई स्वागत गर्दै उहाँले नेपालमा लगानीका लागि थुप्रै सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गरी तुलनात्मक लाभ लिन आह्वान गर्नुभयो । 
लगानीका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार गरेको उल्लेख गर्दै उद्योगमन्त्री जोशीले लगानीकर्तालाई लगानी गरेकै मुद्रामा मुनाफा लैजान दिने र उद्योग स्थापना तथा खारेजीको वातावरण बनाउने बताउनुभयो ।

पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपालमा प्रजातन्त्रको पुनःस्थापनासँगै अर्थतन्त्रमा उदारता अपनाइएको उल्लेख गर्दै उदार राजनीतिक व्यवस्थासँगै मुलुकका सबै क्षेत्रको रुपान्तरण भएको बताउनुभयो ।

उहाँले प्रजातन्त्रको स्थापनासँगै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, पूर्वाधार विकासमा लगानी वृद्धि हुनु र गरिबी निवारणका कार्यक्रमलाई अगाडि बढाइएको र त्यसले जनताको जीवनस्तर सुधार हुँदै आर्थिक गतिविधिमा सुधार आएको बताउनुभयो ।

सम्मेलनमा एसियाली पूर्वाधार लगानी बैंक (आइआइबी)का अध्यक्ष जिन लिक्विनले विश्वव्यापीकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजन गर्नका लागि पूर्वाधार विकास कार्यक्रम आएको उल्लेख गर्नुभयो ।

उहाँले सामाजिक एवम् वातावरणीय रुपमा अगाडि बढाउन आइआइबी स्थापना भएको र आर्थिक सामाजिक क्षेत्रमा लगानी गरेर अगाडि बढ्ने बताउँदै जनताको चाहनाअनुसार विकासलाई अगाडि बढाउने उल्लेख गर्नुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुकको सबै क्षेत्रले लगानीका लागि प्रतिबद्धता व्यक्त भएकाले यसले मुलुकमा वैदेशिक लगानीका लागि उपयुक्त अवसर भएको बताउनुभयो ।

सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो । 

रासस

राष्ट्र बैंकले बैंकहरुका लागि जारी गर्यो नयाँ निर्देशन

राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर बचत खाताको ब्याज दर भन्दा बढी नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकहरुले ‘कृत्रिम निक्षेप’ देखाएर ऋण लगानी गर्न ’कल डिपोजिट’ को दुरुपयोग गर्दै आएका थिए । यसलाई नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दरमा लगाम लगाएको हो । साथै राष्ट्र बैंकले हाल कायम रहेका यस्तो डिपोजिटको ब्याजदर चैत्र मसान्तभित्रमा बचतको भन्दा कम गर्न समेत भनेको छ ।

लगानी योग्य रकमको अभाव भयो भन्दै बैंकहरुले कल डिपोजिटको ब्याजदर झण्डै १३ प्रतिशतसम्म पुर्याएका थिए भने बचतमा तीन प्रतिशतसम्म ब्याज दिने गरेका थिए ।

साथै राष्ट्र बैकले ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण बुझाएर लिएको कर्जालाई खराब कर्जामा वर्गिाकरण गरेर कर्जा असुलीको प्रक्रिया तत्काल अगाडि बढाउन पनि बैकहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै एकै व्यक्ति वा संस्थामा बैंकहरुले गरेको १ अर्ब भन्दा बढि लगानीलाई २०७४ असार सम्ममा सहवित्तीयकरण कर्जामा परिणत गर्न समेत भनेको छ । राष्ट्र बैंकले सुक्ष्म निगरानी अनुसार यस्ता कर्जालाई जोखिम व्यवस्था अन्तर्गत राख्न पनि निर्देशन दिएको छ ।

यसैगरी व्यक्तिगत प्रयोजनका लागि सवारी साधान खरिद गर्दा प्रवाह गर्ने कर्जामा गाडि मूल्यको अधिकतम ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा गएको र विपन्न वर्ग कर्जाको ५० प्रतिशतसम्म रकमलाई सीसीडी रेसियोमा गणनाको क्रममा लिन नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुले थप १२७ अर्ब कर्जा परिचालन गर्ने अवस्था आउने राष्ट्र बैंकले यसअघि नै जनाएको थियो ।

साभार:  मेरो लगानी डट कम

समिट माइक्रोफाइनान्सले खुद नाफा ५१ प्रतिशतले बढ्दा, जगेडाकोष बन्यो लोभलाग्दो : मेरो लगानी डट कम

समिट माइक्रोफाइनान्स (SMFDB)  ले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफामा ५०।९० प्रतिशत अर्थात ८५ लाख रुपैँयाले बढेसँगै लघुवित्तको खुद नाफा दुई करोड ५२ लाख पुगेको छ ।

लघुवित्तले यस अवधिमा ३८ करोड ७१ लाख रुपैँया निक्षेप संकलन गरि ९३ करोड ७९ लाख रुपैँयाको कर्जा लगानी गरेको छ । जसवाट पाँच करोड ७५ लाख रुपैँया खुद ब्याज आम्दानी र तीन करोड ९७ लाख रुपैँया सञ्चालन नाफा गरेको छ ।