HUNTING LINE

+977-023- 544420

आईसीटीसँगै फेरिँदो जीवनशैली

Published Date:3rd-Mar-2017

पछिल्लो समय नेपालमा पनि दूरसञ्चार सेवाको पहुँच बढ्दै गएको छ । यो सेवाले खास गरेर मोबाइल फोनको माध्यमबाट एक हदसम्म आम नेपालीलाई एकआपसमा जोड्न सफल भएको छ । नेपालमा अहिले सबैजसो मानिसको हात–हातमा मोबाइल फोन पुगिसकेको छ । दूरसञ्चार प्राधिकरणको तथ्याङ्कलाई आधार मान्ने हो भने टेलिफोन सेवाको पहुँच जनसङ्ख्याभन्दा २४ प्रतिशत बढी पुगेको छ । यस्तै, इण्टरनेटको पहुँच ५४ प्रतिशत नाघिसकको अवस्था छ । इण्टरनेटको व्यापकताकै कारण आईसीटीको प्रयोगबाट यदाकदा टाढा रहनुपर्दा धेरैजसो मानिसले आफूलाई एक्लो र अलग्गिएको महसूस गर्ने अवस्था बनिसकेको छ ।

पछिल्ला वर्षहरूमा आईसीटी दिगो विकासका लक्ष्य प्राप्तिका लागि आत्मसात् गरिने रणनीतिको केन्द्रमा पनि पर्दै आएको छ । विश्वलाई १७ ओटै दिगो विकासका लक्ष्य प्राप्तिमा आईसीटीले महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा लिइएको छ । दूरसञ्चार सेवा आईसीटीको मुख्य पूर्वाधारको रूपमा रहँदै आएको छ । हाल आएर दूरसञ्चार सेवा प्रविधि मात्र नभएर एउटा छुट्टै उद्योगको रूपमा समेत स्थापित भइसकेको छ ।

दूरसञ्चार सेवाले समाजको स्वरूप, संस्कृति र जीवनशैलीका अतिरिक्त व्यवसाय र आर्थिक गतिविधिमा पनि उत्तिकै प्रभाव पार्न थालेको छ । सञ्चार प्रणालीको संयोजनबाट कार्यसञ्चालन प्रक्रियामा सुधार हुनुका साथै व्यावसायिक आवश्यकता पूर्ति र लागत खर्च कटौती गर्न सहयोग पुगिरहेको छ । दूरसञ्चारले विद्युतीय सेवाको आधार तयार गर्दै औद्योगिक उत्पादनका  ग्राहकलाई लक्षित गर्न सहज बनाउँदै छ ।

सन् १९९० को दशकको अन्त्यसम्म पनि विश्वका १ प्रतिशतभन्दा कम मानिस मात्र अनलाइन हुने गर्थे । त्यसमा पनि अन्यत्र भन्दा पश्चिमा देशहरूमा इण्टरनेटको प्रयोग बढी मात्रामा हुने गथ्र्यो ।  त्यसबेला आम मानिसलाई इण्टरनेटप्रति निकै कौतुहल पनि थियो । तर, आज आएर विश्वका आधाभन्दा बढी मानिस इण्टरनेट सञ्जालमा जोडिएका छन् । यो सङ्ख्या दिनदिनै बढ्दो क्रममा छ । नेपालमा पनि कुल जनसङ्ख्याको आधा हिस्सा इण्टरनेटसँज जोडिएको तथ्याङ्कले देखाएको छ ।

आईसीटीले मानिसको जीवनशैली मात्रै फेरेको छैन, यो आफैमा पनि बदलिँदो छ । सूचना प्रविधिमा भइरहेको तीव्र विकासले गर्दा नयाँ ‘ट्रेण्ड’समेत ल्याइरहेको छ ।

‘भर्चुअलाइजेशन’
आईसीटीको व्यापक रूपमा भइरहेको विस्तार र प्रयोगले छुट्टै ‘भर्चुअल’ दुनियाँ खडा हुँदै गएको छ । सूचना प्रविधि आफैमा एक किसिमको जीवन जिउने विकल्प बनिसकेको छ । हालका दिनहरूमा दूरसञ्चार सेवाले जहाँ जेसुकै गरे पनि प्रयोगकर्तालाई आफ्नो प्रभावमा पारिरहेकै हुन्छ । काम गर्दा, खेल्दा, सामाजिकीकरण प्रक्रिया, मनोरञ्जन, सेवाको वितरण र उपभोग, अध्ययन, अध्यापन, विश्राम, स्वास्थ्योपचार र अन्य कुनै योजना तथा परियोजनाहरूमा जतिखेर पनि दूरसञ्चार सेवाको आवश्यकता परिरहेको हुन्छ ।  

कक्षाकोठामा उपस्थिति बुझाउन, डाक्टरलाई भेट्न, चलचित्र हेर्न, भेटघाटको समय मिलाउन, सम्पर्कमा रहिरहन अहिलेको प्रविधिले धेरै सहयोग पु¥याएको छ । सामान्य हिसाबले भन्ने हो भने पनि हामी आफ्नै आनिबानी र जीवनमा ल्याएको परिवर्तन विचार गरे यसको प्रभाव सहजै महसूस गर्न सक्छौं । अब हामी विस्तारै मानिस–मानिसबीचको सञ्चारबाट मेशिन–मेशिनबीचको सञ्चारको युगमा प्रवेश गर्दै छौं ।  उदाहरणका लागि रेफ्रिजेरेटरले आफै सेवाकेन्द्रको वेब एजेण्टसँग सम्पर्क गरी आवश्यकताको परिपूर्तिमा सघाउने स्थिति बनिसकेको छ । यसबाट वस्तु तथा सेवाको ‘भर्चुअलाइज’ कसरी भइरहेको छ भन्ने स्पष्ट हुन्छ ।

भ्वाइसबाट डाटातर्फ
भ्वाइस सेवा वर्षौंदेखि सशक्त दूरसञ्चार माधयमको रूपमा रहिआएको छ । यद्यपि, अझै पनि सबैजसो ग्राहक लाइन तैनाथ अवस्थामा रहने गरेका छन् । आईसीटीमा भइरहेको तीव्र विकासले भ्वाइस सेवाबाट डाटा अर्थात् इण्टरनेट सेवातर्फ समाजलाई डोहोर्‍याउँदै लगेको छ । दुई मेशिनबीचको डिजिटल सूचना आदानप्रदान नै डाटा सञ्चार हो । एप्लिकेशनको आवश्यकताका आधारमा ब्याण्डविथ तथा क्षमता मध्यमदेखि उच्चसम्म हुन सक्छ । तस्वीर तथा फोटो (भिजुअल)का लागि ब्याण्डविथको आवश्यकता पनि सोही अनुपातमा बढ्दै जान्छ ।

दूरसञ्चार प्रविधिको हिसाबले हामीहरू सार्वजनिक नेटवर्कमा न्यारो ब्याण्डबाट ब्रोडब्याण्डतर्फ गइरहेका छौं । यसको मतलव ‘सिङ्गल च्यानल’बाट ‘मल्टिच्यानल सिष्टम’तर्फ तथा ‘लो ब्याण्डविथ’बाट ‘हाई ब्याण्डविथ’तर्फ गएका छौं ।

ब्रोडब्याण्ड इण्टरनेट
विभिन्न सेवाहरू अनलाइन प्रणालीमा ‘सिफ्ट’ हुने क्रम बढेसँगै डाटाको मागसमेत उल्लेख्य रूपमा बढ्न थालेको छ । त्यसका लागि तीब्र गतिको ब्रोडब्याण्ड इण्टरनेटको आवश्यकताको रूपमा स्थापित हुँदै गएको छ ।

फिक्स ब्रोडब्याण्ड सेवाको विस्तार अपेक्षित गतिमा बढ्न नसके पनि ताररहित प्रविधिको ब्रोडब्याण्ड विस्तार भने उत्साहप्रद रहेको छ ।

पछिल्लो समय मोबाइल प्रविधिमा तीव्र गतिको इण्टरनेटका लागि चौथो पुस्ताको प्रविधि (फोरजी)को विस्तारसमेत भइरहेको छ । अप्टिकल फाइबरको पर्याप्त विस्तार नभइसकेका नेपाल जस्ता मुलुकका लागि गुणस्तरयुक्त भ्वाइस सेवा र ब्रोडब्याण्डको आवश्यकता पूरा गर्न फोरजी उत्तम विकल्प हुन सक्छ ।

नेपालमा केही ढिलो गरी भए पनि गएको पुसबाट फोरजी सञ्चालमा आएको छ । हाललाई नेपाल टेलिकमले मात्रै दिइरहेको यो सेवा काठमाडौं र पोखरामा सञ्चालनमा हुँदा प्रयोगकर्ता पुगिसकेका छन् । हाललाई सिमित फ्रिक्वेन्सीका कारण फोरजीको गति ३२ दशमलव ४ एमबीपीएस मात्र छ । सन् २०२० सम्ममा शुरू गर्ने योजनाका साथ विकसित मुलुकहरूमा फाइभजीको तयारीसमेत भइरहेको छ ।

क्लाउड कम्प्युटिङ
साधारण रूपमा भन्दा कम्प्युटरको हार्ड ड्राइभको सट्टा इण्टरनेटको माध्यमबाट डाटाको स्टोर गर्ने र त्यसमाथि पहुँच कायम गर्ने ‘प्रोग्राम’ नै क्लाउड कम्प्युटिङ हो । जब कि डाटा स्टोर तथा एक्सेसका लागि हार्ड ड्राइभको प्रयोग गर्नुलाई लोकल कम्प्युटिङ तथा स्टोरेज भनिन्छ । सर्भर होष्ट गरी क्लाउड कम्प्युटिङको प्रयोग सस्तो, भरपर्दो र उपयुक्त हुन्छ ।

अटोमेशन प्रणालीको उपयोग बढेसँगै ठूलो मात्रामा डाटा स्टोरको गर्नुपर्ने हुन्छ । हाल सरकारी तथा निजी स्तरबाट क्लाउड कम्प्युटिङको शुरुआत भए पनि त्यसलाई व्यवस्थापन गर्न चुनौती नै छ ।

कन्भर्जेन्स
हरेकजसो व्यक्तिले कुनै पनि कुराप्रति समान किसिमबाट प्रतिक्रिया व्यक्त गर्दैन । कसैलाई पुस्तक पढ्नभन्दा फिल्म हेर्न आनन्द हुन सक्छ । मानिसको सोचाइ पनि भिन्न–भिन्न हुन्छ । अबको प्रविधि ‘एउटै प्लेटफर्म’मा विविध किसिमका ‘मिडिया फर्म्याट’बाट व्यक्तिपिच्छेका रुचिहरूलाई सम्बोधन गर्ने हो, जसलाई आईसीटीको क्षेत्रमा कन्भर्जेन्सको रूपमा बुझ्ने गरिएको छ ।

एकीकृत किसिमको सञ्चार प्रणालीको विकासले गर्दा मानवीय गतिविधिका सूचना तथा सञ्चारका सबै पाटाहरूलाई रूपान्तरण गर्दै लगेको छ । ‘मल्टिमोडल’का सूचनाको रचना, त्यसको आदानप्रदान र वितरणलाई सहयोग पुग्ने किसिमले हामीहरू कम्प्युटरकृत संसारमा प्रवेश गरिरहेका छौं ।

समय र दूरीको रूपमा रहेका व्यवधानहरू हटाउन केन्द्रित परम्परागत दूरसञ्चार सेवा तीव्र गतिमा भौतिक वास्तविकताबाट ‘मल्टिमिडिया’को रूपमा विकसित हुँदै गएको छ । सञ्चार, सेवा र सामग्री सबै विद्युतीय प्रणालीमा आधारित हुन थालेका छन् ।

प्रविधिमा हामी ‘सर्किट स्विच’को अवस्थाबाट ‘पकेट स्विच’को अवस्थामा स्थानान्तरण भइरहेका छौं । ‘सर्किट स्विच’मा एउटा च्यानलमा एउटा ‘कन्भर्सेशन’ हुन्छ, जब कि ‘पकेट स्विच’ले एउटै च्यानलमा ‘मल्टिपल कन्भर्सेशन’को अवसर दिन्छ । त्यसैगरी हामी ‘सिङ्गल मिडिया सिष्टम’बाट ‘मल्टिमिडिया’मा ‘सिफ्ट’ हुँदै गएका छौं । वर्तमान समाज आवाज मात्रको दूरसञ्चार सेवाबाट ‘मल्टिमोडल’ प्रविधिको प्रयोगमा अभ्यस्त हुँदै गएको छ ।

नेटवर्क बण्डलिङ
प्रविधि जगत्मा भएको नयाँ–नयाँ विकास र तीव्रताकै कारण अहिले हामी भ्वाइसका लागि तयार पारिएको नेटवर्कबाट डाटा एप्लिकेशनमा आधारित उच्च गुणस्तरको डिजिटल नेटवर्कतर्फ लागिरहेका छौं । साथै, इलेक्ट्रोनिक नेटवर्कबाट सम्पूर्ण रूपमा अप्टिकल नेटवर्किङतर्फ गइरहेका छौं ।

पीएसटीएन, इण्टरनेट, वायरलेस विकल्प, प्रसारण नेटवर्क र केबल टेलिभिजनलगायत सेवाहरूमा पहुँचका लागि एकै समानको विकल्पको तयार भइरहेको छ । ग्राहकले समेत बण्डलिङ सेवाको चाहना व्यक्त गर्न थालेपछि नेटवर्क सेवा समेत कन्भरर्जिङ हुँदै गएको छ । प्रयोगकर्ताले एउटै बिल, वायरलेस, इण्टरनेट पहुँच, होष्टिङलगायतका लागि एउटै सेवाप्रदायक खोज्न थालेका छन् । विस्तारै त्यसको शुरुआत नेपालमा पनि हुन थालेको छ । आईएसपीहरूले एउटै नेटवर्कबाट दिइरहेको टेलिभिजन, इण्टरनेटलगायत सुविधालाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ ।

दूरसञ्चार सेवाको क्षेत्रमा आउने सामान्य परिवर्तनले मात्र पनि कुनै कम्पनीको आर्थिक स्थितिमा ठूलो परिवर्तन ल्याउन सक्छ । व्यक्तिको जीवनशैलीलाई एक हदसम्म सहज बनाउन सक्छ । विद्यमान कतिपय नियमनकारी प्रक्रियाहरू दूरसञ्चार सेवाको विकास र विस्तारलाई बढावा दिनेभन्दा त्यसलाई रोक्ने किसिमका छन् । केही व्यवस्थाहरू कुनै खास किसिमको विचार नगरीकनै तय गरिन्छ । नेपालको नियमनकारी व्यवस्थाको परिवर्तन कुनै किसिमको ठूलो समस्या आइपरेको अवस्थामा मात्रै हुने गरेको छ । यस किसिमका जटिलता फुकाउँदै नयाँ प्रविधिको विकास र त्यसलाई आत्मसात् गर्ने सन्दर्भमा सहजता कायम गर्नु नै विद्यमान चुनौतीको विषय हो ।

आईसीटी क्षेत्रको नियमनकारी निकायहरूको अबको भूमिका भनेकै यस क्षेत्रको विकासलाई सहयोग पुग्ने र धेरै जटिलता नरहने वातावरण तयार पार्नु हो । लागत घटाउँदै प्रतिस्पर्धात्मक रूपमा सञ्चार प्रविधिलाई छिटोछरितो बनाउनतेर्फ सरकारको ध्यान जान आवश्यक छ ।

साभार: आर्थिक अभियान