Contact Us

+977-011-665573

राष्ट्र बैंकले बैंकहरुका लागि जारी गर्यो नयाँ निर्देशन

Published Date:2nd-Mar-2017

राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दर बचत खाताको ब्याज दर भन्दा बढी नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंकहरुले ‘कृत्रिम निक्षेप’ देखाएर ऋण लगानी गर्न ’कल डिपोजिट’ को दुरुपयोग गर्दै आएका थिए । यसलाई नियन्त्रण गर्नका लागि राष्ट्र बैंकले कल डिपोजिटको ब्याज दरमा लगाम लगाएको हो । साथै राष्ट्र बैंकले हाल कायम रहेका यस्तो डिपोजिटको ब्याजदर चैत्र मसान्तभित्रमा बचतको भन्दा कम गर्न समेत भनेको छ ।

लगानी योग्य रकमको अभाव भयो भन्दै बैंकहरुले कल डिपोजिटको ब्याजदर झण्डै १३ प्रतिशतसम्म पुर्याएका थिए भने बचतमा तीन प्रतिशतसम्म ब्याज दिने गरेका थिए ।

साथै राष्ट्र बैकले ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण बुझाएर लिएको कर्जालाई खराब कर्जामा वर्गिाकरण गरेर कर्जा असुलीको प्रक्रिया तत्काल अगाडि बढाउन पनि बैकहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै एकै व्यक्ति वा संस्थामा बैंकहरुले गरेको १ अर्ब भन्दा बढि लगानीलाई २०७४ असार सम्ममा सहवित्तीयकरण कर्जामा परिणत गर्न समेत भनेको छ । राष्ट्र बैंकले सुक्ष्म निगरानी अनुसार यस्ता कर्जालाई जोखिम व्यवस्था अन्तर्गत राख्न पनि निर्देशन दिएको छ ।

यसैगरी व्यक्तिगत प्रयोजनका लागि सवारी साधान खरिद गर्दा प्रवाह गर्ने कर्जामा गाडि मूल्यको अधिकतम ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न निर्देशन दिएको छ ।

त्यस्तै राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा गएको र विपन्न वर्ग कर्जाको ५० प्रतिशतसम्म रकमलाई सीसीडी रेसियोमा गणनाको क्रममा लिन नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुले थप १२७ अर्ब कर्जा परिचालन गर्ने अवस्था आउने राष्ट्र बैंकले यसअघि नै जनाएको थियो ।

साभार:  मेरो लगानी डट कम